मकवानपुरमा थपिए २ जना कोरोना संक्रमित, भए ३ संक्रमणमुक्त

तु खबर संवाददाता
२०७८ कार्तिक २८, आईतवार १६:४९

मकवानपुर । मकवानपुरमा थप २ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४१ जनाको पीसीआर र ३०२ जनाको एन्टीजेन परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा दुबै जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १५ हजार ४ सय २३ जना पुगेको छ । तीमध्ये हालसम्म १५ हजार १ सय ७२ जना संक्रमणमुक्त भएका छन् भने १६५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ३ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

विभिन्न मितिमा संक्रमण पुष्टि भई होम आइसोलेशनमा रहेका ३ जना आज संक्रमणमुक्त भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमणमुक्त हुनेमा २ जना हेटौंडा उपमहानगरपालिका र एक जना बकैया गाउँपाकिाका रहेका छन् । यस्तै, जिल्लामा हालसम्म हेटौंडाका १ सय १७ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।