हेटौंडामा दुर्घटना अपडेट : मृतक दुबै जनाको सनाखत

तु खबर संवाददाता
२०७८ कार्तिक २५, बिहीबार ०८:२२

मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिकाको नवलपुलस्थित सडकखण्डमा बुधबार भएको सवारी दुर्घटनामा परेर मृत्यु भएका दुई जनाको सनाखत भएको छ । मृत्यु हुनेमा ना ७ ख ८७६ नम्वरको रात्री बस चालक चन्द्रागिरी नगरपालिका वडा नम्वर २ बस्ने २९ वर्षीय सरोज परियार र सो बसमा सवार धनुषाको औरही गाउँपालिका वडा नम्वर ३ बस्ने २४ वर्षीय सोभित सहनी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बुधबार जनकपुरबाट काठमाडौँतर्फ जान आइरहेको ना ७ ख ८७६ नम्वरको रात्री बस र विपरित दिशाबाट आइरहेको प्रदेश नम्वर २– ०३०१ ख ५०३५ नम्वरको ट्रक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । तीमध्ये परियारको बुधबार दिउँसो र सहनीको बुधबार साँझ सनाखत भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । यस्तै, सोही दुर्घटनामा परेर १८ जना घाइते भएका छन् । घाइतेहरुमध्ये १५ जनाको चुरेहिल अस्पतालमा र ३ जनाको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।