हेटौंडामा छठ पर्वको तयारी सुरु

तु खबर संवाददाता
२०७८ कार्तिक २३, मंगलवार १७:५७

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा छठ पर्वको तयारी सुरु भएको छ । हिन्दु धर्मावलम्बीहरुले हर्षोल्लासका साथ मनाउने छठ पर्वको लागि विशेषगरी तराई–मधेसवासीहरु पूजाका सामग्री किनमेलमा व्यस्त देखिएका छन् । छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको निकै भीडभाड देखिएको छ । छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट पर्दछन् ।

अहिले छठ पर्व मनाउनेहरू हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ स्थित राप्ती खोला तटको सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । छठ पूजाका लागि हेटौंडाका व्रतालुहरू राति पूजा गर्ने ठाउँमा नै बस्छन् भने ग्रामीण क्षेत्रमा धेरैजसो व्रतालु बेलुका घर फर्किछन् र भोलिपल्ट बिहानै घाटमा गएर उदाउँदो सूर्यलाई अघ्र्य दिन्छन् ।

छठ मनाउँदा चर्म रोग निको हुने, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास रहेको छ । अघिल्लो बर्ष कोरोना संक्रमणको जोखिमका कारण छठ सामान्य रुपमा मनाइएको भएपनि यस बर्ष स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्वन गर्दै छठ पर्व मनाउन मकवानपुर प्रशासनकै अनुमतिमा छठ घाट निर्माण गरिएको मधेशी सेवा समाजका अध्यक्ष सुशिल प्रसाद सिनुरियाले जानकारी दिए ।

उनका अनुसार करिब साडे ५ सय फिट लम्बाईको छठ घाट बनाइएको छ । उनले राप्ती तटमा आयोजना गरिने पुजामा करिब ५ सय जना ब्रतालु र २ हजार जना श्रद्धालुहरुले अवलोकन गर्ने अनुमान गरे । विशेष रूपमा नेपालको मिथिलाञ्चल क्षेत्रमा तराई मधेशमा मनाइने छठ पर्व पछिल्लो केही बर्ष यता पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ । यसैबीच छठ पर्व आजदेखि विधिवत् रूपमा सुरू भएको छ । कार्तिक शुक्ल चतुदर्शी छठको पहिलो दिन हो । यस दिनबाट छठ पर्व आरम्भ हुन्छ ।

छठको पहिलो दिनलाई ‘नहाय खाय’ भनिन्छ । यस दिन बिहान सरसफाई गरी नुहाएर शुद्ध भोजन ग्रहण गरिन्छ । यस दिन एक छाक मात्र खाइन्छ । व्रतालुले आजदेखि सप्तमीसम्म माछा, मासु, लसुन, प्याज, कोदो आदिको भोजन गर्दैनन् । यो चार दिन व्रतालुले सात्विक भोजन मात्र गर्दछन् । कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ ।