माओवादीको नेतृत्व देश र जनताप्रति समर्पित छ: दीपशिखा
मकवानपुर । वाइसीएल नेपालका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले माओवादी केन्द्रको नेतृत्व देश र जनताको लागि समर्पित रहेको बताएका छन् । हेटौंडामा आयोजित वाइसीएल हेटौंडा उपमहानगर कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै दीपशिखाले माओवादी सदैव जनताको हक अधिकारको पक्षमा लडिरहेको बताए ।
उनले मुलुकमा हरेक परिवर्तनहरुमा माओवादी केन्द्रको महत्त्वपूर्ण भूमिका रहेको बताए । माओवादीकै नेतृत्वमा असम्भव मानिएको राज्य व्यवस्थासमेत परिवर्तन गरेको इतिहास ताजा रहेको उनले बताए । अन्य पार्टी राज्य सत्ता हत्याउने प्रयासमा लागिरहेको आरोपसमेत लगाए । उनले अन्य पार्टीका नेताहरु चुनाव जित्नकै लागि कार्यकर्तालाई गुण्डा र डन शैलीमा प्रयोग गर्ने गरेको भन्दै माओवादीले भने जनार्दनजस्ता नेताहरुको नेतृत्वमा जनताको पक्षमा कुलमानजस्ता पात्र जन्माउन केन्द्रित रहेको बताए ।
उनले माओवादीलाई झुक्याउन बालकोट र बूढानीलकण्ठबाट अथक प्रयास भइरहेको बेला युवाहरु वाइसीएलमा आवद्ध भएर केन्द्रीय नेतृत्वलाई खबरदारी गर्ने समय आएको बताए । माओवादीका सबै नेता तथा कार्यकर्ता एकतावद्ध भएर माओवादी आन्दोलन र इतिहास मास्न खोज्नेविरुद्ध सक्रिय रुपमा लाग्नुपर्नेमा उनको जोड थियो । मुलुकमा प्रतिगामीहरु दिनप्रतिदिन बढीरहेको भन्दै दीपशिखाले सबैले आ–आफ्नो क्षेत्रबाट प्रतिगामीहरुलाई लखेट्नुपर्ने बताए । पूर्व प्रधानमन्त्री केप ओली र एमाले नेता महेश बस्नेततर्फ लक्षित गर्दै दीपशिखाले भने ‘प्रतिगामीहरुलाई हेटौंडाबाट तपाई खेद्नुस् भक्तपुरबाट म लखेट्छु ।’
