भीमफेदी–कुलेखानी सडकखण्ड आजबाट दैनिक ४ घण्टा बन्द हुने
मकवानपुर । मकवानपुरको हेटौंडाबाट भीमफेदी हुँदै काठमाडौंतर्फ जाने कुलेखानी सडकखण्डमा स्तरोन्नती गर्न आजदेखि दैनिक ४ घण्टा सवारीसाधन बन्द हुने भएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले सडक विस्तार एवम् स्तरोन्नतिका लागि भीमफेदी–कुलेखानी सडकमा सवारीसाधन आजदेखि कात्तिक १५ गतेसम्म दैनिक ४ घण्टाका लागि बन्द गर्ने जनाएको हो ।
मोतिदान÷रायमाझी जेभी काठमाडौंले सो सडक खण्डको विस्तार तथा स्तरोन्नती कार्य गरिरहेको थियो । भीमफेदी–देउराली–कुलेखानी सडकखण्ड अन्तर्गत कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको र अष्फाल्ट कंक्रिट गर्ने कार्यका लागि सवारी आवागमन बन्द गर्नुपर्ने अवस्था आएको निर्देशनालयका निर्देशक सहदेव भण्डारीले जानकारी दिए ।
उनका अनुसार, भीमफेदी गाउँपालिका–६ जुरीखेतदेखि चिसापानीगढी बिचको एघार घुम्ती क्षेत्रमा सडक सांघुरो, उच्च ग्रेडियन्ट तथा घुम्ती क्षेत्रमा अष्फाल्ट कंक्रिट पेभमेन्ट कार्य हुने भएकोले तीन दिन ४ घण्टा सबै प्रकार (सुमो, मोटरसाइकल, स्कुटर, बस, ट्याक्टर आदी ) का सवारीसाधनमा रोक लगाउने भएको हो ।
साथै निर्देशनालयले सम्पूर्ण सवारी साधनहरुको आवतजावत बन्द गर्नका लागि सम्बन्धित निकायहरुमा समन्वय गरी सम्बन्धित निकायहरुमा समन्वय गरी निर्माण कार्यमा सहयोग पुर्यादिन सबैलाई आग्रह समेत गरेको छ । उक्त सडकखण्डमा यसअघि सवारी आवागमनमा बाधा नपर्ने गरी आलोपालो मिलाएर निर्माण कार्य गरिदै आइएको थियो ।
