बागमती प्रदेशः मुख्यमन्त्री शाक्यको राजीनामा स्वीकृत, नयाँ सरकार गठन गर्न आह्वान

तु खबर संवाददाता
२०७८ कार्तिक १०, बुधबार १६:३७
मुख्यमन्त्री, अष्टलक्ष्मी शाक्य

मकवानपुर । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको राजीनामा स्वीकृत गरेका छन् । उनले नयाँ सरकार गठनको लागि आह्वानसमेत गरेका छन् । बिहीबार दिउँसो ३ बजेभित्र आफ्नो दावी पेश गर्न प्रदेशसभामा आवद्ध दलहरुलाई आह्वान गरिएको छ । शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम कात्तिक १० गते प्रदेश प्रमुखसमक्ष लिखित राजीनामा पेश गरेको र उनको राजीनामा स्वीकृतसमेत भइसकेकोले नयाँ सरकार गठनको प्रस्ताव आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश प्रमुख शर्माले प्रदेशसभामा कुनैपनि दलको बहुमत नरहेको अवस्थामा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री पदमा दावी गर्न भनिएको छ ।

नयाँ सरकार गठन गर्दा नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने तयारी छ । पाण्डेलाई मुख्यमन्त्री बनाउन कांग्रेस, माओवादी र जसपाकोसहित ५९ सांसदले समर्थन गर्दैछन् । पाण्डेले मुख्यमन्त्रीमा आजै आफ्नो दावी गर्ने स्रोतले बताएको छ ।