बागमती प्रदेश : मुख्यमन्त्री शाक्यले दिइन पदबाट राजीनामा
मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छिन् । मख्यमन्त्री शाक्यले आज (बुधबार) बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष राजीनामा बुझाएकी हुन् । आज अपराह्न बसेको प्रदेशसभाको नवौं अधिवेशन चौथो बैठकमा राजीनामा दिने घोषणा गरेकी उनले राजीनामा बुझाएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री शाक्यले यसअघि आजै बसेको प्रदेशसभा बैठकमा विश्वासको मत लिने सन्दर्भमा सम्बोधन गर्दै सहमतिको राजनीतिलाई जीवन्त तुल्याउन नेपालको संविधानको धारा १६९ को उपधार १ (क) बमोजिम पदबाट राजीनामा दिने घोषणा गरेकी थिईन् । उनले सोही अनुरुप प्रदेश प्रमुख शर्मा समक्ष राजीनामा पेश गरेकी हुन् ।
प्रदेशसभा बैठक स्थगित भएलगतै बागमती प्रदेश प्रमुख समक्ष राजीनामा दिन पुगेकी हुन् । यससँगै बागमतीमा नयाँ सरकार गठनको लागि बाटो खुलेको छ । सरकार गठनको लागि ५५ मत आवश्यक रहेको छ । नेकपा एमाले विभाजनपछि १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै एमालेमा ४३ सांसद मात्र रहेका छन् । यसैगरी, प्रमुख प्रतिपक्ष नेकपा माओवादीका २३, अर्को प्रतिपक्ष नेपाली कांग्रेसको २२, विवेकशील साझा दलको ३, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) र राप्रपाका २/२, जनता समाजवादी पार्टी (जसपा) को १ जना प्रदेशसभा सदस्यहरु रहेका छन् ।
