बागमतीका १२ जिल्लामा एमालेको पालिका अधिवेशन जारी, मकवानपुरमा १३ गते हुने
मकवानपुर । बागमती प्रदेशको १२ वटा जिल्लामा नेकपा एमालेको पालिका अधिवेशन जारी छ । प्रदेशको १३ वटा जिल्लामध्ये मकवानपुर बाहेक अन्य १२ वटा जिल्लामा आजबाट एमालेको पालिका अधिवेशन सुरु भएको हो । मकवानपुरमा भने उद्योग वाणिज्य संघको निर्वाचन र पालिका अधिवेशनको तयारी नपुगेको भन्दै एमाले मकवानपुरले आगामी कात्तिक १३ गतेका अधिवेशन सारेको छ ।
एमाले मकवानपुरका अनुसार, कात्तिक १३ गते जिल्लाको सबै पालिकामा अधिवेशन गर्ने तयारी गरेको छ । केन्द्रीय नेतृत्वसँगको छलफलबाट मकवानपुरको एक उपमहानगरपालिका र एक नगरपालिका र ८ वटा गाउँपालिका गरी कुल १० वटै पालिकामा १३ गतेसम्म अधिवेशन सार्ने निर्णय गरेको एमाले मकवानपुरका अध्यक्ष बद्रीप्रसाद लम्सालले बताए ।
यता, चितवनको ५ वटा नगरपालिकामा एमालेको पालिका अधिवेशन सुरु भएको छ । जिल्लाको एक महानगरपालिका र एक गाउँपालिकामा भने आज अधिवेशन हुन सकेन । चितवनको ७ वटा स्थानीय तहहरुमध्ये इच्छाकामना गाउँपालिकाको गाउँ अधिवेशन भोलि गर्ने तयारी गरिएको छ भने भरतपुर महानगरपालिकाको अधिवेशन १५ गते गर्ने तयारी गरिएको एमाले चितवनका सचिव प्रकाश खनालले बताए ।
यसैगरी, १३ वटा स्थानीय तह रहेको धादिङ जिल्लामा पनि एमाले अधिवेशन सुरु भएको छ । पार्टी विभाजनको असर भोगिरहेको अवस्थामा एमाले धादिङले सबै पालिकाहरुमा आजै सर्वसम्मत रुपमा नेतृत्व प्रदान गर्ने गरी पालिका अधिवेशन सुरु भएको बागमती प्रदेशसभा सदस्य रामकुमार अधिकारीले बताए । केहीबेर अघिमात्र सुरु भएको एमाले अधिवेशनले नेतृत्व चयनमा सर्वसम्मतको प्रयास असफल भए निर्वाचन प्रक्रियामा जाने र त्यसका लागि अध्यक्ष मण्डल गठन गरिसकेको उनले बताए ।
यसैगरी, ९ स्थानीय तह रहेको दोलखाको एक स्थानीय तहमा एमालेको नगर अधिवेशन सम्पन्न भएको छ । जिल्लाको गौरीशंकर नगरपालिकामा एमालेका नगर अधिवेशन हिजो (सोमबार) नै सम्पन्न भएको हो । अधिवेशनले दंग गुरुङको नेतृत्वमा नगरकमिटी चयन गरेको जनाइएको छ । नगर अधिवेशनबाट गुरुङले सर्वसम्मत रुपमा गौरीशंकरको नेतृत्व पाएका हुन् । जिल्लाको जिरी नगरपालिकामा पनि एमालेको अधिवेशन आज हुँदैछ । अन्य ७ वटा पालिकामा भने अधिवेशन आगामी कात्तिक १५ गतेभित्र सम्पन्न गर्ने तयारी भइरहेको दोलखाबाट निर्वाचित बागमती प्रदेशसभा सदस्य सरस्वती बस्नेतले जानकारी दिइन् ।
त्यस्तै, १२ वटा पालिका रहेको नुवाकोट जिल्लामा पनि एमालेको अधिवेशन आज दिउँसोबाट सुरु भएको छ । नुवाकोटको २ नगरपालिका र १० वटा गाउँपालिकामा एमालेको अधिवेशन सुरु भएको बागमती प्रदेशसभा सदस्य बद्री मैनालीले जानकारी दिए । आजको अधिवेशनले सर्वसम्मत रुपमा पालिकाहरुको नेतृत्व चयन गर्ने उनले बताए । सहमती हुन नसकेको खण्डमा निर्वाचन प्रक्रियामा जाने र आगामी १४ गते भित्र नेतृत्वको विषय टुङ्ग्याउने उनले बताए ।
यस्तै, १२ वटा स्थानीय तह रहेको सिन्धुपाल्चोकको १० वटा पालिकामा एमालेको अधिवेशन सुरु भएको छ । जिल्लाको २ वटा गाउँपालिकामा भने एमालेको पालिका अधिवेशन रोकिएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका र त्रिपुरा सुन्दरी गाउँपालिकाको अधिवेशन रोकिएको हो । विकट क्षेत्रको रुपमा रहेको भोटेकोशीमा सडक सञ्जालमा रहेको अवरोधका कारण अधिवेशन स्थगित भएको हो भने त्रिपुरा सुन्दरीमा स्थानीय नेताको निधन भएका कारण अधिवेशन रोकिएको बागमती प्रदेशसभा सदस्य अरुण नेपालले जानकारी दिए । रोकिएको पालिकाको अधिवेशन आगामी १५ गते भित्र सम्पन्न गरिने उनको भनाइ छ ।
यता, सिन्धुलीको ९ वटै स्थानीय तहमा एमालेको पालिका अधिवेशन दिउँसो १ बजेबाट सुरु भएको छ । सिन्धुलीको २ नगरपालिका र ७ गाउँपालिकामा आजै नयाँ नेतृत्वसहित एमालेको पालिका सम्पन्न हुने बागमती प्रदेशसभा सदस्य विनोद कुमार खड्काले बताए । सबै पालिकामा सर्वसम्मत रुपमा नेतृत्व दिने गरी पालिका अधिवेशन जारी रहेको उनको भनाइ छ । नेतृत्व चयनका विषयमा सहमति हुन नसकेको खण्डमा भने निर्वाचन प्रकृयाबाट नेतृत्व टुंग्याइने उनले बताए ।
यसैगरी, प्रदेशको रसुवा जिल्लामा पनि नेकपा एमाले अधिवेशन बिहान ११ बजेदेखि सुरु भएको छ । ५ वटा गाउँपालिका रहेको रसुवामा नेकपा एमालेको गाउँ नगर अधिवेशन सुरु भएको हो । आजको अधिवेशनले रसुवाका सबै पालिकामा सर्वसम्मत रूपमा नेतृत्व दिने गरी अधिवेशन जारी रहेको बागमती प्रदेशसभा सदस्य शान्ति थिङले जानकारी दिइन् । सर्वसम्मत रुपमा नेतृत्व दिने तयारी गरिएको भएपनि विभिन्न पदका आकांक्षीहरु धरै भएकाले निर्वाचन पनि गराउनु पर्ने अवस्था आउन सक्ने उनले बताइन् ।
यसैगरी, ८ स्थानीय तह रहेको रामेछापमा पनि आजै सम्पन्न गर्ने गरी एमालेको पालिका अधिवेशन सुरु भएको छ । जिल्लाको २ वटा नगरपालिका र ६ वटा गाउँपालिकामा एकैसाथ पालिका अधिवेशन सम्पन्न हुने र आजै सबै पालिकाले नयाँ नेतृत्व पाउने बागमती प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शान्ति प्रसाद पौडेलले बताए । सर्वसम्मत रुपमा सबै पालिकाहरुमा नेतृत्व प्रदान गर्ने प्रयास भइरहेको उनले बताए ।
त्यस्तै, ४ स्थानीय तह रहेको भक्तपुरमा पनि एमालेको अधिवेशन सुरु भएको छ । भक्तपुरको ४ वटा नगरपालिकामा एमालेको नगर अधिवेशन दिउँसो १ बजेदेखि सुरु भएको हो । सबै पालिकाहरुमा सर्वसम्मत रुपमा नेतृत्व दिने गरी पालिका अधिवेशन जारी रहेको बागमती प्रदेशसभा सदस्य शशिजंग थापाले बताए । नेतृत्वको लागि सहमतिको प्रयास विफल भए निर्वाचन प्रकृयाबाट नगर कमिटी चयन गरिने उनको भनाई छ ।
यस्तै, ६ वटा स्थानीय तह रहेको ललितपुरमा पनि आज एमालेको पालिका अधिवेशन सुरु भएको छ । बिहानैदेखि संगठित सदस्यहरुको सक्रिय उपस्थितिमा एमालेको पालिका अधिवेशन सुरु भएको हो । १ महानगरपालिका रहेको ललितपुरको ६ वटै स्थानीय तहमा आजै सम्पन्न गर्ने गरी पालिका अधिवेशन सुरु भएको बागमती प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले बताए । पालिकामा नेतृत्वको लागि धेरै युवा पुस्ताहरुले आकांक्षा देखाएका र सर्वसम्मत रुपमा नेतृत्व चयनको प्रयास भइरहेको उनले बताए ।
यता ११ स्थानीय तह रहेको काठमाडौंमा पनि आज एमालेको नगर अधिवेशन सुरु भएको छ । १ महानगरपालिका र १० वटा नगरपालिकामा एमालेको अधिवेशन सुरु भएको नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले बताए । सबै पालिकामा सर्वसम्मत रुपमा नेतृत्व प्रदान गर्ने तयारी भइरहेको उनले बताए । यता १३ वटा स्थानीय तह रहेको काभ्रेमा पनि एमालेको पालिका अधिवेशन सुरु भएको छ । ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेको काभ्रेमा आजै नयाँ नेतृत्व प्रदान गर्ने गरी अधिवेशन सुरु भएको हो ।
