दुर्घटनामा मोटरसाइकल चालकसहित चार जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ कार्तिक ७, आईतवार ०९:५५
सांकेतिक तस्वीर

झापा । झापाको कनकाई नगरपालिका–९ लक्ष्मीपुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । शनिबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र १–०१–००१ ख ३५२० नंको ट्रकले विपरीत दिशातर्फ गइरहेको मे ५ प ८४७२ नंको मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–३ का २७ वर्षीय निश्चल खनाल रहेका छन् । प्रहरीका अनुसार, मृतक खनाल मोटरसाइकल चालक हुन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

सर्लाहीमा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु
सर्लाही । सर्लाहीमा शनिबार छुट्टाछुट्टै दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । करेन्ट लागेर दुई जनाको र एक बालकलाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ईश्वरपुर नगरपालिका–१५ सुकनाहामा ट्य्बेलमा पानी चलाउने क्रममा अचानक करेन्ट लाग्दा ब्रहम्पुरी गाउँपालिका–७ मोहनगङ्जका २८ वर्षीया पपितादेवी साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी करेन्ट लागेर नै ब्रहम्पुरी–२ का ४० वर्षीय सुरेन्द्र साहको मृत्यु भएको छ । विद्युतीय पोलमा वाइफाईको तार जोड्न जाँदा साहलाई शनिबार साँझ करेन्ट लागेको थियो । यसैबीच बागमती नगरपालिका–५ मा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा बागमती–८ का १४ वर्षीय बालक प्रकाशबहादुर थिङको शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।