बागमती प्रदेशमा बानियाँ र पाण्डे आधा–आधा समय मुख्यमन्त्री बन्ने

तु खबर संवाददाता
२०७८ कार्तिक ४, बिहीबार १५:३६

मकवानपुर । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पालैपालो आधा–आधा समय बागमती प्रदेश सरकारको नेतृत्व गर्ने सहमति जुटेको छ । एमाले नेतृ तथा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने निश्चित भएपछि गठबन्धनबीच आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति जुटेको हो ।

मुख्यमन्त्री शाक्यले आज प्रदेशसभामा विश्वासको मत लिन राखेको प्रस्तावमाथि प्रक्रिया सु? हुँदैछ । यसअघि बुधबार बेलुका काठमाडौंमा गठबन्धनका शीर्ष नेताबीच यस्तो सहमति भएको हो । गठबन्धनको शीर्ष नेतृत्व तहमा भएको छलफल र सहमतिअनुसार पहिलो आधा कार्यकाल एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र आधा काँग्रेसको इन्द्र बानियाँ सरकारको नेतृत्व गर्दै मुख्यमन्त्री बन्नेछन् ।

आज बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य बोहराले विश्वासको मत लिने कार्यसूचि छ । मुख्यमन्त्री शाक्यले गएको असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् ।

सो प्रस्तावमाथि आजको बैठकमा छलफल हुने र विश्वासको मत लिने प्रकृया अगाडि बढाइने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । भदौ २ गते नेकपा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी शाक्य अहिले अल्पमतमा छिन् । एमालेका १३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री अल्पमतमा परेकी हुन् ।

प्रमुख सचिव खड्काका अनुसार, आजको बैठकमा हुने विश्वासको मतको लागि सत्तापक्ष र प्रतिपक्षहरुको लागि मतदान कार्यको निमित छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको छ । बागमती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्यहरु रहेका छन् । प्रदेश सरकार गठनको लागि ५५ सांसदको साथ आवश्यकता पर्दछ । कूल ५६ सांसद रहेकोमा १३ सांसद एकीकृत समाजवादीमा गएसंगै एमाले ४३ सांसदमा खुम्चिन पुगेको छ । प्रदेशसभामा २३ जना नेकपा माओवादी केन्द्र, २२ जना नेपाली कांग्रेस, ३ जना विवेकशील साझा, २ जना नेमकिपा, २ जना राप्रपा र १ जना जसपाका सांसद छन् ।