बागमती प्रदेशसभाको बैठक दिउँसो ३ बजे मात्रै सुरु हुने

तु खबर संवाददाता
२०७८ कार्तिक ४, बिहीबार १३:०९

मकवानपुर । बागमती प्रदेशसभाको आज बिहिबार दिउँसो १ बजेको लागि तय भएको बैठक सभामुख सानुकुमार श्रेष्ठको निर्देशनअनुसार दिउँसो ३ बजेका लागि सारिएको प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता उमेश सोतीले जानकारी दिएका छन् । सभामुखज्यूले विशेष कारण देखाउँदै ३ बजेको लागि बैठक सार्न निर्देशन दिनुभएको छ, त्यही अनुसार हामीले तयारी अघि बढाएका छौँ । उनले भने ।

आज बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य बोहराले विश्वासको मत लिने कार्यसूचि छ । मुख्यमन्त्री शाक्यले गएको असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् ।

सो प्रस्तावमाथि आजको बैठकमा छलफल हुने र विश्वासको मत लिने प्रकृया अगाडि बढाइने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । भदौ २ गते नेकपा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी शाक्य अहिले अल्पमतमा छिन् । एमालेका १३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री अल्पमतमा परेकी हुन् ।

प्रमुख सचिव खड्काका अनुसार, आजको बैठकमा हुने विश्वासको मतको लागि सत्तापक्ष र प्रतिपक्षहरुको लागि मतदान कार्यको निमित छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको छ । बागमती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्यहरु रहेका छन् । प्रदेश सरकार गठनको लागि ५५ सांसदको साथ आवश्यकता पर्दछ । कूल ५६ सांसद रहेकोमा १३ सांसद एकीकृत समाजवादीमा गएसंगै एमाले ४३ सांसदमा खुम्चिन पुगेको छ । प्रदेशसभामा २३ जना नेकपा माओवादी केन्द्र, २२ जना नेपाली कांग्रेस, ३ जना विवेकशील साझा, २ जना नेमकिपा, २ जना राप्रपा र १ जना जसपाका सांसद छन् ।

नेकपा एमालेले आजको लागि तय भएको प्रदेशसभाको नवौँ अधिवेशनको तेस्रो बैठक ११ गतेसम्मको लागि सार्न सचिवालयसमक्ष बुधबार लिखित प्रस्तावसमेत पेश गरेको थियो । पार्टीको वडा र पालिका तहको अधिवेशन क्रमश कात्तिक ६ र ९ गते हुने भएको र सो अधिवेशनमा सांसदहरुको भूमिका महत्वपूर्ण हुने भएको कारण देखाउँदै सदनमा एमालेबाट प्रतिनिधित्व गर्ने सांसदहरु उपस्थित हुन नसक्ने एमालेका प्रमुख सचेतक दीपक निरौलाले बताउँदै आएका छन् ।