सिन्धुलीमा ३ दिदीबहिनीको सामूहिक बलात्कार

तु खबर संवाददाता
२०७८ कार्तिक २, मंगलवार ०९:१८

सिन्धुली । जिल्लाको कमलामाई नगरपालिका वडा नं ५ बोझेका एकै घरका दिदीबहिनी र उनीहरुको आफन्त पर्ने किशोरीमाथि सामुहिक बलात्कार भएको छ । राती भेट्न बोलाएर ९ जनाको समूहले तीन किशोरीमाथि सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

शनिबार राति ९ जना युवाहरुले ती किशोरीहरुलाई भेट्न बोलाई घर नजिकैको बोझे खोला बगरमा लगी सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक रामभक्त भट्टराईले जानकारी दिएका छन् । बलात्कृत हुने बालिका १५, १६ र १७ वर्षका हुन् । प्रहरीका अनुसार बलात्कार गर्ने एक जना युवक र बलात्कृत हुने एक जना किशोरीकोे पहिलेदेखि नै चिनजान थियो ।

चिनजानको आधारमा ती युवकले बालिकालाई फोन गरेर भेट्न बोलाएका थिए । आफ्नै बहिनी र आफन्त बहिनी लिएर उनी भेट्न खोला बगरमा गइन् । त्यही बेला ९ जनाको समूहले तीनै जना बालिकामाथि सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ छ । प्रहरीले ९ जनामध्ये ३ जनालाई पक्राउ गरेको छ भने ६ जना फरार रहेका छन् ।