मकवानपुरमा सवारी दुर्घटना

तु खबर संवाददाता
२०७८ कार्तिक २, मंगलवार ०९:१४

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ सिमखोला नजिकै गएराति कुखुरा बोकेको बोलेरो गाडी दुर्घटना भएको छ । हेटौंडा–भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जाने सडकखण्ड अन्तरग पर्ने उक्त स्थानमा कुखुरा बोकेको गाडि ब्रेक फेल भई सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार, हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश २ –०३–००१ च ४०२१ नम्वरको कुखुरा लोड भएको बलेरो गाडी दुर्घटना भएको हो । सो दुर्घटनामा परेर गाडी चालक पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्वर २ बस्ने ३० वर्षीय बलबहादुर गुरुङको दाहिने हातमा सामान्य चोट लागेको छ ।

यस्तै, दुर्घटनामा १ हजार १५० किलो कुखुरामध्ये केही कुखुरा मरेको प्रहरी निरीक्षक दासले बताए । उनका अनुसार, दुर्घटनामा परेर उक्त गाडी पूर्ण रुपमा क्षति भएको छ । हाल गाडी घटनास्थलमै रहेको छ । घटनास्थलमा प्रहरी चौकी खानिखेतबाट पहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोली रहेको जनाइएको छ ।