बागमती प्रदेशमा सार्वजनिक सवारीको भाडा बढ्यो

काठमाडौँ । बागमती प्रदेशमा आजबाट सार्वजनिक सवारी साधनको बढाइएको भाडादर कायम गरिएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आजैबाट लागू हुनेगरी नयाँ भाडादर तोकेको हो । काठमाडौँ उपत्यकामा ५ किलोमिटर दूरीसम्मको यात्रा गर्दा सार्वजनिक सवारीमा १८ रुपैंया भाडा तोकिएको छ ।
त्यसैगरी १० किलोमिटरसम्म यात्रा गर्दा २३ रुपैयाँ, १५ किलोमिटरसम्मको २७ रुपैयाँ, २० किलोमिटर सम्मको ३० रुपैंया र २० किलोमिटर भन्दाबढी यात्रा गर्दा प्रतिव्यक्ति ३५ रुपैयाँ भाडा तोकिएको हो ।
हाल तोकिएको भाडादर भन्दा सार्वजनिक सवारीले केही बढी भाडा लिने जानकारहरु बताउँछन् । अहिले बजारमा १, २ रुपैयाँको नोट विस्तारै हराउँदै गएको छ । सार्वजनिक सवारीमा डिजिटल प्रणालीमार्फत् भाडा तिर्ने व्यवस्था मिलाउन सकिएको छैन । जसका कारण यात्रुले तोकिएको भन्दा बढी भाडा तिर्नुपर्ने बाध्यता कायमै रहने उनीहरुको भनाई छ ।
यसअघि उपत्यकामा छोटो दुरीको यात्रा गर्दा १० रुपैयाँ भाडा तोकिएको थियो । तर, अब सार्वजनिक सवारी चढ्नासाथ न्यूनतम १८ रुपैयाँ तिर्नैपर्ने गरी भाडादर तोकिएको हो । यस्तै उपत्यका बाहेक साबिकको भाडादरमा केही प्रतिशत वृद्धि गरिएको छ । यो भाडादरमा यात्रुले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले सरसामान वा गुन्टा लैजान पाउने व्यवस्था गरिएको छ ।