मकवानपुरमा सवारी दुर्घटना: २ पुरुषको मृत्यु, ८ जना घाइते
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ स्थित लामबगरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवापुरले जनाएको छ । मृतक दुवैजना पुरुष भएको र उनीहरुको थप पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका ६ जनालाई उपचारको लागि काठमाडौंस्थित पाटन अस्पताल लगिएको थियो । उनीहरुमध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको र बाँकी ४ जना उपचाररत रहेको जनाइएको छ ।
काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज ४५११ नम्वरको सुमो साँझ लामबगरस्थित सडकबाट अनियन्त्रित भई करिब ४० मिटर तल खसेको हो । उक्त सुमोमा चालकसहित १० जना सवार थिए । घाइते ४ जनालाई भने उपचारको लागि हेटौंडा अस्पतालमा ल्याइएको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय मकवानपुरको टोली पुगिसकेको र आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवदासले जानकारी दिएका छन् ।
