असोज २४ गते बागमती प्रदेशसभाको नवौँ अधिवेशन बैठक आह्वान

तु खबर संवाददाता
२०७८ आश्विन २२, शुक्रबार १४:४६

मकवानपुर । बागमती प्रदेशसभाको नवौँ अधिवेशन बैठक असोज २४ गतेको लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा १ बमोजिम बागमती प्रदेश मुख्यमन्त्री परिषद्को सिफारिस भई आएअनुसार प्रदेशसभाको ९ औँ अधिवेशन बैठक यही असोज २४ आइतबार दिनको ३ बजे बस्ने गरी आह्वान गरेका हुन् ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको ९ औँ अधिवेशन बस्न मन्त्रिपरिषद्ले निर्णय गरी पठाएअनुसार बागमती प्रदेश प्रमुखले संवैधानिक प्रक्रिया पुरा गरी बैठकको आह्वान गर्नुभएको बागमती प्रदेशसभा सचिवालयका सूचना अधिकारी सुन्दर पन्तले जानकारी दिए ।

उनको अनुसार प्रदेश प्रमुखले बैठक आह्वान गर्नुभए अनुसार प्रदेशसभाका १०९ जना सदस्यहरुलाई बैठकमा सहभागि हुन पनि सूचना प्रवाह गरिसकिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी पन्तले जानकारी दिए ।