दसैंका लागि मकवानपुरबाट १ हजार खसीबोका काठमाडौं लैजाने
मकवानपुर । यस वर्षको दसैंका लागि मकवानपुरबाट १ हजार खसी बोका काठमाडौं लैजाने भएको छ । साविकको खाद्य संस्थान तथा हालको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैंका लागि १ हजार खसी बोका काठमाडौं लैजाने जानकारी दिएको हो ।
दशैंमा खपत हुने मासुको लागि मकवानपुरका विभिन्न कृषि सहकारी संस्थासँगको समन्वयमा कम्पनीले खसी बोका काठमाडौं निर्यातको व्यवस्थापन गरेको छ । कम्पनीले दशैंमा १ हजार वटा खसीबोका काठमाडौं ढुवानी गर्ने लक्ष्यसहित खसी बोका संकलनका लागि मकवानपुरका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको स्थानीय प्राथमिक खरिद् समितिको गत असोज १७ गतेको बैठकले खसी बोकाको मूल्य निर्धारण गरेको छ ।
समितिले २०–२५ किलो तौल भएका जिउँदो खसीको प्रति किलो ५ सय ७५ रुपैयाँ मूल्य निर्धारण गरेको छ भने २५ किलोभन्दा माथि तौल भएका खसी तथा बोकाको मूल्य प्रति ५ सय २५ रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, समितिले १८ किलो वा सो भन्दा बढी तौल भएका बोकाको मूल्य प्रतिकिलो ५ सय २० रुपैयाँ निर्धारण गरेको छ । समितिले उत्पादन आपूर्ति, स्थानीय बजार भाउ र सम्बन्धित पशु सेवा कार्यालयको दर रेटका आधारमा मूल्य निर्धारण गरेको बताए । कम्पनीले आज (शुक्रबार) बाट खसी बोका संकलन तथा निर्यातको काम गर्ने गरी काम गरिरहेको उनले बताए ।
