राष्ट्रिय जनगणना : बागमतीमा घर तथा परिवार सूचीकरण कार्य सकियो

तु खबर संवाददाता
२०७८ आश्विन १९, मंगलवार ०८:३२

मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय जनगणना कार्यक्रम २०७८ अन्तर्गत घर तथा परिवार सूचीकरण कार्य सकिएको छ । प्रदेशबा १३ वटै जिल्लामा गत भदौ ३० गतेदेखि सुरु सूचीकरण कार्य सोमबार सकिएको हो । प्रदेशका सबै जिल्लामा सुपरीवेक्षक खटाएर घर परिवार सूचीकरण गरिएको हो ।

प्रदेशका सबै जिल्लाका गाउँ/नगर पालिकाका प्रत्येक वडामा खटाइएका सुपरीवेक्षकले घर परिवार सूचीकरणको काम सम्पन्न गरेका छन् । प्रदेश जनगणना कार्यालय हेटौंडाका तथ्यांक अधिकृत राजेश दासले प्रदेशभित्र कति घर तथा परिवार सूचीकरण भयो भन्ने यकिन तथ्यांक आइनसकेको जानकारी दिए । घर तथा परिवार सूचीकरण कार्यको लागि मकवानपुरमा मात्रै १४१ जना सुपरिवेक्षक खटाइएको थियो । जसमध्ये हेटौंडाको १९ वडामा ३८ जना सुपरिवेक्षक खटाइएको अधिकृत दासले बताए ।

उनीहरुले सोमबारसम्म घर तथा परिवार सूचीकरणको तथ्याङ्क संकलन गरेपनि हेटौंडामा कति घर सूचीकृत भयो भनि यकिन नभएको उनले बताए । यस्तै, जिल्लाको ग्रामीण भेगमा इन्टरनेटको पहुँच नभएको तथा पेपरबेसमा काम भएका कारण तथ्यांक संकलनमा ढिलाई भएको हो । मकवानपुरमा राष्ट्रिय जनगणनाअन्तर्गत ५ सय १८ जना गणकहरु खटाइने भएको छ । उनीहरुको सर्टलिस्ट केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरिसकेको छ ।