नेपाललाई जापानद्वारा एम्बुलेन्स सहयोग
मकवानपुर । नेपाललाई जापान सरकारले एम्बुलेन्स प्रदान गरेको छ । आज (सोमबार) एक कार्यक्रमबीच स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालस्थित जापानका राजदुत किकुकाले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । मन्त्री श्रेष्ठले जापान सरकारले स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएकोमा धन्यवाद दिँदै नेपाल र जापानबीच निरन्तर सहयोग आदानप्रदान हुनुपर्ने बताए ।
उनले कोभिड–१९ को रोकथाम र नियन्त्रण पनि जापान सरकारले कोरोनाविरुद्ध खोपलगायत विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेकामा प्रशंसा व्यक्त गरे । यस्तै, नेपालस्थित जापानका राजदूत किकुता युताकाले नेपाललाई सबै क्षेत्रमा जापानले सहयोग गर्दै आइरहेको बताए ।उक्त एम्बुलेन्स मन्त्रालयले नेपाल एम्बुलेन्स सेवालाई आजै प्रदान गरेको छ । एम्बुलेन्स सेवाका अध्यक्ष डा.प्रदीप वैद्यले प्राप्त एम्बुलेन्सले बिरामीलाई सेवा प्रदान गर्ने बताए ।
एम्बुलेन्समा प्राथमिक उपचारसहितको सेवा बिरामीलाई दिइने उनले बताए । उनका अनुसार एम्बुलेन्समा एक जना इमर्जेन्सी मेडिकल टेक्निसियन (इएमटी) सहितको प्राथमिक स्वास्थ्य उपचारसमेत गरिन्छ । यससँगै एम्बुलेन्स सेवासँग १८ एम्बुलेन्स हुनेछन् । सो संस्थाले १०२ नम्बरमा फोन गरे २४ घण्टा एम्बुलेन्स सेवा पुर्याउँदै आइरहेको छ । एम्बुलेन्स सेवाले काठमाडौंसहित पोखरा र चितवनमा पनि सेवा विस्तार गरेको छ ।
