बागमतीमा सार्वजानिक यातायातको भाडादर समायोजन हुने

तु खबर संवाददाता
२०७८ आश्विन १५, शुक्रबार ०९:०९

मकवानपुर । बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडादर समायोजन हुने भएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले ‘यातायात व्यवस्थापन ऐन २०७५’ अनुसार नियमावली र प्रदेश मन्त्रिपरिषद्को निर्णय अनुसार सार्वजनिक यातायातको भाडा समायोजन हुने जानकारी दिए ।

उनले यातायात भाडा समायोजनका लागि प्रदेश सरकारले कार्यदल नै बनाएर काम अगाडि बढाएको बताउँदै अब भाडा समायोजनको अन्तिम निष्कर्ष आउन मात्र बाँकी रहेको र उक्त निष्कर्षपश्चात मात्र सवारीसाधनको नयाँ भाडा निर्धारण हुने बताए ।

यस्तै, सार्वजनिक यातायात महासंघका अध्यक्ष डोलनाथ खनालले वि.सं. २०७० बाट भाडा समायोजन नहुँदा यातायात व्यवसायी मर्कामा परेको जानकारी दिए । उनले वि.सं. २०६५ मा सरकारले ६ महिनासम्म अनुसन्धान गरेर वैज्ञानिक भाडा नीति ल्याएको भए पनि उक्त कार्य पाँच वर्षसम्म लागू भएर स्थिर बनेको बताए ।

पेट्रोलियम पदार्थका कारण भाडा बढ्ने वा घट्ने सम्भावना ३५ प्रतिशत मात्र भएको र ६५ प्रतिशत अन्य कारण रहेको उनको भनाइ छ । भाडा समायोजनको विषयमा गाडीको मूल्य, ब्याज, चालकको पारिश्रमिक, गाडीका विभिन्न भागको मूल्यलगायतको अध्ययन गरिने उनले बताए । संघीय सरकारले अन्तरप्रदेशको भाडा २८ प्रतिशत वृद्धि गरेको भए पनि प्रदेशभित्र समायोजन हुन नसकेको अध्यक्ष खनालको भनाई छ ।