प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध कायमै
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि अवरोध कायमै राखेको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठक प्रारम्भ भएको बताउनेवित्तिकै एमाले सांसदहरुले नाराबाजी गर्दै बैठकमा अवरोध गरेका हुन् । बैठकमा सभामुख सापकोटाले संविधानको धारा १ सय ५ अनुसार अदालतमा विचाराधीन मुद्दा संसदमा छलफल हुन नसक्ने कुरा ध्यानाकर्षण गराएका छन् ।
सभामुखको आग्रहको वेवास्था गर्दै एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र मुद्दा फिर्ता गर जस्ता नारा लगाइरहेका छन् । एमालेको अवरोधका बीच सभामुखले बैठकलाई अगाडि बढाएका छन् । एमालेले प्रतिनिधिसभाको अघिल्लो बैठकमा पनि सभामुखको राजीनामा माग गर्दै अवरोध गरेको थियो । प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा वालुवाटारमा सर्वदलीय बैठक बसेको थियो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरु भने अनुपस्थित भएका थिए ।
