सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद्लाई पूर्णता दिने

तु खबर संवाददाता
२०७८ आश्विन ६, बुधबार १६:४३

काठमाडौं । सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक आज (बुधबार) साँझ बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियाले जानकारी दिए । उनका अनुसार, बैठक सिंहदरबार या बालुवाटार कहाँ बस्ने तय भएको छैन । आज बस्ने उक्त बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल हुनेछ ।

यस अघि मंगलबार पनि गठबन्धन दलको बैठक बसेको थियो । उक्त बैठकमा माओवादीबाट मात्रै भएपनि मन्त्री हुनेको नाम पठाउन प्रधानमन्त्री देउवाले अध्यक्ष प्रचण्डसँग प्रस्ताव गरेका थिए । सोही अनुसार मन्त्रीको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी समितिको बैठक पेरिसडाँडामा बसिरहेको छ भने काँग्रेसको पदाधिकारी बैठक पनि सिंहदरबारमा केहीबेरमा बस्दैछ । यस्तै, काँग्रेसको पदाधिकारी, माओवादी केन्द्रको स्थायी समिति र एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी छ । सो बैठक बसेर सत्ता गठबन्धनको बैठक बस्न लागेको जनाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले हालसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेको छैन ।