न्यौपानेद्वारा हेटौंडा नगर सचिव पदमा उम्मेदवारी घोषणा
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका युवा नेता सविन न्यौपानेले पार्टीको १४ औं महाधिवेशनअन्तर्गत् असोज ९ गते शनिबार हुने नगर अधिवेशनमा सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । हेटौंडा–१ का वडा अध्यक्षसमेत रहेका न्यौपानेले बुधबार कार्यकर्तासँग भेटघाटको क्रममा सचिव पदमा उमेदबारी घोषणा गरेका हुन् ।
कांग्रेस पार्टीलाई सबल र सक्षम बनाउन आफूले सचिव पदमा उमेदवारी दिन लागेको न्यौपानेले बताएका छन् । गएको स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नं १ मा लोकप्रिय मतका साथ अध्यक्ष निर्वाचित भएका उनले बागमती प्रदेशको राजधानी र मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडामा कांग्रेस सक्षम भए जिल्लामै पार्टी मकवानपुरनै बलियो हुने भन्दै त्यसका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।
‘हेटौंडा उपमहानगरमा कांग्रेसलाई सबल र सक्षम बनाउन, पार्टीमा युवा सहभागितालाई दरिलो बनाउन, पार्टीलाई संस्थागतरुपमा विकास गर्न, प्रशिक्षणको माध्यमबाट पार्टी संगठनलाई चुस्तदुरुस्त पार्न र आसन्न स्थानीय तहको निर्वाचनमा उपमहानगरपालिकामा कांग्रेसका उमेदवारहरु जित्ने सांगठनिक आधार तयार गर्न मेरो उम्मेवारी हो ।’, न्यौपानेले पार्टीको विधानमा व्यवस्था भएबमोजिम समावेशी सहभागिताको मुद्दालाई कार्यान्वयन प्रक्रिया सक्रिय ढंगले अगाडि बढाउनुपर्ने टड्कारो आवश्यकता औंल्याए । सहमति, सहकार्य र एकताको माध्यमबाट पार्टी संगठनमा क्षमतावान व्यक्तिलाई अगाडि बढाउन र पार्टीमा सामूहिक भावनाको विकास गर्न लागिपर्ने घोषणा समेत गरेका छन् ।
