माओवादीले वडादेखि केन्द्रीय समितिसम्मको नेतृत्व निर्वाचनमार्फत चयन गर्ने

तु खबर संवाददाता
२०७८ आश्विन ५, मंगलवार १५:४०
file-photo

काठमाडौं । नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहको नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको छ । माओवादीले वडा, प्रदेश र संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै तहको नेतृत्व निर्वाचनबाट चयन गर्ने भएको हो ।

माओवादीले यसअघि नै आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरिसकेको छ । माओवादीले वडादेखि केन्द्रसम्म दुई लाख ८५ हजार पदहरुमा निर्वाचनमार्फत नेतृत्व चयन गर्ने माओवादी केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले जानकारी दिए । उनका अनुसार, निर्वाचन कार्यविधिमा पार्टी अध्यक्ष र पदाधिकारीको चयन पनि निर्वाचनबाटै गरिनेछ ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेता पुनले सोमबार आयोजित केन्द्रीय निर्वाचन समितिको भर्चुअल अभिमूखीकरण बैठकमार्फत सबै तहको नेतृत्व निर्वाचन प्रक्रियाको तयारीमा लाग्न मातहत कमिटीलाई निर्देशन दिएका छन् । बैठकमा १ सय ८० केन्द्रीय सदस्य, ७ भौगोलिक र ३ गैरभौगोलिक गरी १० प्रदेशका प्रदेश निर्वाचन समितिका पाँच/पाँच जना सहभागी रहेको नेता पुनले जानकारी दिए । प्रदेश निर्वाचन आयोगले छिट्टै नगर तथा गाउँ र वडा निर्वाचन समिति गठन गरी निर्वाचन केन्द्रित काम अघि बढाउने उनले बताए ।