नेकपा एकीकृत समाजवादीको बैठक दिउँसो २ बजे बस्दै
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक मंगलवार बस्दैछ । निर्वाचन आयोगले भदौ ९ गते पार्टी दर्ताको प्रमाणपत्र उपलब्ध गराएपछि सो दलको पहिलो पटक बैठक बस्न लागेको हो । बैठकमा पार्टीको विधानलगायत आन्तरिक तयारीका विषयमा छलफल हुने जनाइएको छ । बैठक दिउँसो २ बजे बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बस्ने तयारी भएको केन्द्रीय कमिटी सदस्य मेटमणि चौधरीले बताए ।
आजको बैठकले पार्टी बिधानका साथै संगठनसम्बन्धी विभिन्न प्रतिवेदन तयार पार्ने उनको भनाइ छ । साथै, आजको बैठकको कार्यसूचीमा पार्टीको जिल्ला इन्चार्ज तोक्ने, प्रदेश कमिटी अनुमोदन गर्नेलगायत विषय रहेको चौधरीले बताए। बैठकबाट तीन महिने पार्टी कार्ययोजनासमेत तय हुने उनको भनाइ छ । नेकपा एमालेका ५६ केन्द्रीय सदस्य र ३० सांसदले निर्वाचन आयोगमा सशरीर उपस्थित भई नयाँ दलका पक्षमा सनाखत गरेका थिए । एमालेबाट विभाजित भएर माधव कुमार नेपालको अध्यक्षतामा एकीकृत समाजवादी पार्टी गठन भएको हो ।
