काठमाडौँसहित ७ जिल्लामा आज कांग्रेसको वडा अधिवेशन हुँदै

तु खबर संवाददाता
२०७८ आश्विन ५, मंगलवार ०८:४६

मकवानपुर । नेपाली कांग्रेसले काठमाडौँसहित ७ जिल्लामा आज वडा अधिवेशन गर्दैछ । अधिवेशनबाट वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । भदौ १८ देशभरका ६ हजार ७ सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने भनिएतापनि ५७ जिल्लामा मात्रै अधिवेशन भएको थियो । बाँकी २० जिल्लामा आज अधिवेशन गर्ने भनिएको भएपनि तीमध्ये १३ जिल्लामा अधिवेशन हुन सकेको छैन । क्रियाशील सदस्यताको सूची नै सार्वजनिक नहुँदा प्रदेश नम्वर २ का ८ सहित १३ जिल्लामा वडा अधिवेशन अन्यौलमा परेको छ ।

क्रियाशील सदस्यतासम्बन्धी विवाद पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकले मिलाए पनि कार्यान्वयनमा आइसकेको छैन । क्रियाशील सदस्यताको सूची पार्टी वेबसाइटमा नराख्दा प्रदेश २ का ८ जिल्ला, रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतमा वडा अधिवेशन अन्यौलमा परेको छ । आज काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया, बाजुरा र मोरङमा वडा अधिवेशन हुने कांग्रेसले जनाएको छ ।

समयमै वडा अधिवेशन हुन नसक्दा कांग्रेसले असोज ९ मा गर्ने भनेको गाउँ÷नगर अधिवेशन प्रभावित हुने भएको छ । वडा सभापति र क्षेत्रीय प्रतिनिधि गाउँ÷नगर अधिवेशनका मतदाता हुन्छन् । कांग्रेसले केन्द्रीय महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने बताएको छ।