एक हप्ताभित्र सरकारमा जाने माधव नेपालको घोषणा

तु खबर संवाददाता
२०७८ आश्विन ३, आईतवार १६:०५
file-photo

पोखरा । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूहरु आगामी एक हप्ताभित्र सरकारमा जाने घोषणा गरेका छन् । संविधान दिवसको अवसमा आइतबार पोखरामा आयोजित लोकतन्त्र तथा संविधान रक्षाको निम्ति पार्टीको भूमिका विषयक विचार गोष्ठी तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुराको घोषणा गरेका हुन् ।

उनले केन्द्रसँगै लुम्बिनी प्रदेश सरकारमा पनि सहभागी हुने तयारी भइरहेको बताए । ‘पहिले आसेपासेलाई लगेर नियुक्ति गरियो । क्षमता नभएका, अनुचित काम गर्नेलाई पनि पठाइएको थियो । आफूसँग असहमत भएकाहरुको मानमर्दन गर्न पठाइएको थियो,’ नेपालले भने, ‘ती सबैबाट मुक्त भएर हामी समुचित ढंगले व्यवस्थापन गर्दैछौं ।’

अध्यक्ष नेपालले प्रदेश १ र बागमतीमा सरकार परिवर्तनको तयारी भइरहेको बताए । उनले भने ‘प्रदेश नम्वर १ र बागमती प्रदेशमा पनि केपी ओलीका प्युसोहरुको सरकार छ । अब त्यहाँ एक हप्ताभित्र सरकार हटाएर हामी सरकारमा जान्छौं ।’ उनले थपे, ‘गण्डकी प्रदेशमा हिजो हाम्रा पक्षका साथीहरुलाई जुन भेदभाव गरियो, अन्याय गरियो, टिकटबाट वञ्चित गरियो । हामीलाई उठ्नै दिइएन, पीडित बनाइयो ।’