निवर्तमान मुख्यमन्त्री पौडेलद्वारा हेटौंडामा सम्पर्क कार्यालय उद्घाटन

तु खबर संवाददाता
२०७८ आश्विन २, शनिबार ०८:३५

मकवानपुर । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमाले केन्द्रीय सदस्य डोरमणि पौडेलको सम्पर्क कार्यालय तथा सचिवालयलको उद्घाटन भएको छ ।

नेकपा एमाले बागमती प्रदेशका सहइन्चार्जसमेतर रहेका पौडेलले शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित थाहाचोकमा सम्पर्क कार्यालय तथा सचिवालयको उद्घाटन गरेका हुन् । सो कार्यक्रममा बोल्दै उनले जनतालाई सहज रुपमा भेट्न आफुले कार्यालय खोलेको बताए । उनले जनतालाई परेको समस्याको सहज रुपमा समाधान र सो समस्याप्रति उत्तरदायी भएर काम गर्न कार्यालय स्थापना गरेको बताए । मकवानपुर क्षेत्र नम्बर १९२० का प्रदेशसभा सदस्य समेत रहेका उनले अब जनताहरुसँग नियमित भेटघाट सम्पर्क कार्यालयमा हुने समेत बताए ।

उक्त अवसरमा बागमती प्रदेशका सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेप्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, एमाले केन्द्रीय सदस्य रामेश्वर राना, जिल्ला अध्यक्ष बद्री लम्साल, सचिव एकालाल श्रेष्ठ, उपसचिव लालबहादुर थापा, प्रदेश युवा परिषद् उपाध्यक्ष सन्तोष चौलागाईं, हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।

बागमती प्रदेशमा हाल अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री रहेकी छन् । उनी गत भदौ २ गते प्रदेशको मुख्यमन्त्रीमा चयन भएकी हुन् । शाक्य माधवकुमार नेपाल निकट थिइन् । नेकपा एमाले फुटेपछि माधव नेपालले नयाँ दल दर्ता गरेका छन् । नेपालले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गराएका हुन् । मुख्यमन्त्री शाक्य भने यसअघि माधव कुमार निकट भएपनि अहिले नेकपा एमालेमा रहेकी छन् । निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि मुख्यमन्त्री पदमा शाक्य चयन भएकी हुन् । बागमती प्रदेशमा हाल १०९ जना प्रदेशसभा सदस्य रहेका छन् ।