कांग्रेस मकवानपुरको वडा अधिवेशन सम्पन्न

तु खबर संवाददाता
२०७८ भाद्र २१, सोमबार ०९:५५
फोटो : कांग्रेस मकवानपुरगढी वडा नम्वर २ को वडा अधिवेशन ।

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको वडा अधिवेशन सम्पन्न भएको छ । आइतबारबाट सुरु भएको वडा अधिवेशन सोमबार सम्पन्न भएको कांग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

प्रवक्ता कोइरालाका अनुसार, जिल्लाको १०२ वटै वडामा अधिवेशन सम्पन्न भएको हो । जसमध्ये १३ वटा वडामा मतदान प्रकृया (निर्वाचन) बाट र बाँकी ८९ वडामा निबिरोध वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन भएको हो ।

वडा अधिवेशनबाट वडा सभापति, उपसभापतिमा २ जना, सचिवमा २ जना, सह–सचिवमा २ जना, कोषाध्यक्ष र सदस्यहरु चयन भएका छन् ।

समितिमा ३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य गरिएको छ भने विभिन्न कोटाहरु (जातजाती, पिछडिएको वर्ग, अल्पसंख्यक, मधेशी, मुस्मिल) लगायतको प्रतिनिधित्व रहेको प्रवक्ता कोइरालाले जानकारी दिए ।

अधिवेशनले बुथ प्रतिनिधि अर्थात वडाबाट प्रतिनिधित्व गर्ने क्षेत्रीय प्रतिनिधिसमेत चयन गरिसकेको छ । मकवानपुरका विभिन्न गाउँपालिका र नगरपालिकाका वडाहरुमा आवश्यकताका आधारमा वडासमिति र बुथ प्रतिनिधिसमेत गरी कम्तिमा १६ जनादेखि ५० जना चयन गरेको प्रवक्ता कोइरालाले बताए ।

कांग्रेसले देशैभर वडा तहको अधिवेशन भदौ १८ देखि २३ गतेभित्रमा गर्न निर्देशन दिएको थियो ।