मुख्यमन्त्री शाक्यले तत्काल विश्वासको मत नलिने
मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले तत्काल विश्वासको मत नलिने बताएकी छन् । मुख्यमन्त्री शाक्यले आइतबार हेटौंडामा संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सो कुरा बताएकी हुन् ।
मुख्यमन्त्री शाक्यले नेकपा एमाले विभाजन भएर गठित भएको नेपाल एकीकृत समाजवादी पार्टीको आगामी २२ गतेसम्म सनाखतको समय रहेकोले आफुले तत्काल विश्वासको मत नलिने बताएकी हुन् ।
मुख्यमन्त्री शाक्यले नेकपा एमाले विभाज भएपछि केही सांसदहरु नेकपा एकीकृत समाजवादीमा गएको र सो पार्टी विपक्षी गठबन्धनमा सहभागि हुने भएको बताउँदै उनीहरुले चालेको कदम पश्चात आफ्नो रणनीति तथा योजनाहरु कार्यान्वयन गर्ने बताईन् ।
उनले केही गरी आफु प्रतिपक्षमा बस्नुपर्ने अवस्था आएपनि सहर्ष स्वीकार गर्ने बताइन् । उनले भने, जनताको काममा इमान्दारीताका साथ लागेका छौं । जति दिन सरकारको नेतृत्व पाउँछौ, हामी त्यस बेलासम्म काम गछौं । प्रतिपक्षमा बस्नु पर्ने अवस्था आए पनि हामी सहर्ष स्वीकार गर्छौँ ।’
प्रतिपक्षको प्रस्तुति अनुसार नै आफू अगाडि बढ्ने भन्दै विपक्षी दलका नेतासँगको विगतको सम्बन्धका आधारमा सहमती र सहकार्यको गृहकार्य गर्ने उनको भनाई छ ।
