भूकम्पबाट ४५ करोड अमेरिकी डलर बराबरको क्षति

तु खबर संवाददाता
२०७४ कार्तिक २९,बुधबार ११:१०
तस्बिर : गुगल

तेहरान, कात्तिक २९ (रासस/सिन्ह्वा) : इरान र इराकको सीमाक्षेत्रमा गत आइतबार गएको ७.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्पपछि गरिएको प्रारभिक सर्वेक्षणबाट ४५ करोड अमेरिकी डलर बराबरको क्षति भएको छ ।

तासनिम समाचार समितिले मङ्गलबार सो जानकारी दिएको छ । भूकम्पबाट आवासीय, व्यापारिक र औद्योगिक भवनलगायत प्रशासनिक संचरनाको नोक्सानलाई लिएर तयार पारिएको प्रारम्भिक प्रतिवेदनमा सो क्षतिको आँकलन गरिएको हो ।

उक्त प्रतिवेदन इरानका राष्ट्रपति हसन रौहानीलाई बुझाइएको सरकारी अधिकारीले जानकारी दिएका छन् । सो भूकम्पबाट हजारौँ भवन र सरकारी संरचना ध्वस्त हुनुको साथै क्षतिग्रस्त भएको बताइएको छ । यस भूकम्पमा परी सयौँ व्यक्तिको मृत्यु हुनुको साथै अन्य हजारौँ घाइते भएका छन् । कुर्दनजिकैको सहर हलब्जामा केन्द्रबिन्दु रहेको यस भूकम्प प्रभावित क्षेत्रमा उद्धारका काममा खटिरहेका उद्धारकर्मीका अनुसार मृतकको सङ्ख्या अझै बढ्नसक्ने छ ।

भूकम्पका कारण भत्किएको भग्नावशेषबाट केही व्यक्ति मात्र निकाल्न सफल भएको र अझै कैयौँ पुरिएको हुनाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको हो । इरान र इराकको सीमाक्षेत्रमा भूकम्प गएको थियो । यसबाट इरानतर्फका आठवटा गाउँमा बढी क्षति भएको छ । साथै अरु पनि कैयौँ गाउँ र सहरमा बिजुली आपूर्ति बन्द भएको छ भने सञ्चार सेवा अवरुद्ध छ । इरानमा सन् १९९० इरानमा आएको ७.४ म्याग्नीच्युडको भूकम्पको कारण ४० हजार व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन लाख व्यक्ति घाइते भएका थिए ।

भूकम्प प्रभावित क्षेत्रमा राष्ट्रपति पुग्नभयो । यसैगरी तेहरानबाट प्राप्त अर्काे एक समाचारमा इरानका राष्ट्रपति हसन रौहानी बुधबार सो भूकम्पप्रभावित क्षेत्रको भ्रमणमा जानुभएको थियो । उहाँले बुधबार सो क्षेत्रको भ्रमण गरेर पीडितलाई आवश्यक सहयोगका साथै उद्वारको कार्यलाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*