मकवानपुरमा निषेधाज्ञा: पठनपाठन बन्द गराएर विद्यालय भवनमा राजनीतिक दलको भेला

तु खबर संवाददाता
२०७८ भाद्र १४, सोमबार १४:५६

मकवानपुर । कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञा लामो समयदेखि कायमै छ । सक्रिय संक्रमितको संख्यामा बृद्धि भएको भन्दै प्रशासनले पुनः निषेधाज्ञाको अवधि भदौ २० गतेसम्म लम्ब्याएको छ ।

प्रशासनले निषेधाज्ञाको अवधिमा शैक्षिक संस्थाहरुलाई पठनपाठन क्रियाकलाप पूर्ण रुपले बन्द गराउन आग्रह गरेको छ । निर्णय कार्यान्वयनमा अटेर गरेको भन्दै प्रशासनले विद्यालयका संचालक तथा शिक्षकसमेतलाई पक्राउ गरी १० हजारसम्म धरौटी लिएर छाड्ने गरेको छ ।

प्रशासनले भदौ ९ गते जारी गरेको निर्णयको बुँदा नम्वर २.६ मा शैक्षिक संस्थाहरु ( विद्यालय, कलेज, ट्यूशन सेन्टरहरु, तामिल केन्द्र), सार्वजनिक पुस्तकालय, सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, भेला तथा सम्मेलन, पूर्ण रुपले बन्द रहने उल्लेख गरिएको
छ ।

तर, भौतिक उपस्थितिमा पठनपाठन क्रियाकलाप संचालनमा रोक लगाउने प्रशासनको आँखै अगाडि विद्यालय भवनमा नै विभिन्न राजनीतिक दलहरुले कार्यकर्ता भेला तथा सम्मेलन गर्दै आइरहेका छन् ।

नेकपा एमाले निकट अखिल नेपाल महिला (अनेम) संघ मकवानपुरले हेटौंडाका विभिन्न वडामा रहेका विद्यालयहरुमा नै बैठक तथा कार्यक्रम गर्ने गरेको सार्वजनिक भएपछि स्थानीयले विरोध जनाइरहेका छन् ।

भदौ १२ गते हेटौंडाकै एक विद्यालयमा अखिल नेपाल महिला संघ मकवानपुरकी अध्यक्ष सुमित्रा काफ्लेको अगुवाइमा एमालेले गरेको कार्यक्रमको तस्वीरसहित नगरवासीहरुले सामाजिक संजालमार्फत् आक्रोश व्यक्त गरिरहेका छन् ।

ग्रामिण भेगका बालबालिका पठनपाठन क्रियाकलापबाट बञ्चित

मकवानपुरमा १३० भन्दा बढी सामुदायिक विद्यालयहरु छन् । निजी विद्यालयको संख्या सामुदायिक विद्यालयको भन्दा पनि बढी छ ।

सहर केन्द्रीत केही निजी तथा सामुदायिक विद्यालयहरुले इन्टरनेटको माध्यमबाट अनलाइन कक्षा संचालन गरिरहेको भएपनि ग्रामिण भेगमा पठनपाठन क्रियाकलाप संचालन हुन पाएको छैन ।

जिल्लाका सबै ग्रामिण भेगमा इन्टरनेटको पहुँच विस्तार हुन सकेको छैन । आर्थिक अवस्था न्यून भएका अभिभावकसंग इन्टरनेट चल्ने डिभाइस पनि उपलब्ध छैन । भएकाहरु पनि इन्टरनेट र डिभाइस प्रयोग गर्ने अध्यास नभएका कारण प्रभावकारी रुपमा पठनपाठन क्रियाकलापमा सहभागि हुन पाएका छैनन् ।

स्थानीय तहसंग अनुमति लिएर स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्वन गर्दै पठनपाठन क्रियाकलाप संचालनमा ल्याएका विद्यालयहरुलाई पनि प्रशासनले रोक लगाउने गरेको छ । अधिकाँश ग्रामिण भेगका बालबालिका अध्ययन प्रक्रियामा सहभागि हुन पाएका छैनन् । जसका कारण ग्रामिण र सहरी भेगका बालबालिकाबीच शिक्षामा ठूलो अन्तर देखापर्ने निश्चित छ ।

बजार क्षेत्र र विभिन्न पसल व्यवसाय संचालनका लागि अनुमति दिइएको छ । राजनीतिक दलले दिनहुँजसो न्यूनतम स्वाथ्य सुरक्षाका मापदण्डसमेत अवलम्वन नगरी सभा, सम्मेलन, प्रदर्शन गरिनैरहेका छन् । पार्टी प्रवेशको कार्यक्रम भन्दै हजारौँ संख्यामा कार्यकर्ता भेला पारेर कार्यक्रम पनि भइरहेका छन् । तर शिक्षा क्षेत्रमा भने प्रशासनको बन्देज कायमै छ ।

शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण

विद्यालयमा राजनैतिक दलको कार्यक्रम भइरहेकोप्रति शिक्षा विकास तथा समन्वय इकाइले ध्यानाकर्षण भएको जनाएको छ ।

इकाईका प्रमुख प्रेमराज खरेलले विज्ञप्ति जारी गर्दै गैर शैक्षिक गतिविधि संचालनका लागि बिद्यालय भवन उपलब्ध नगराउन सबै विद्यालयहरुलाई आग्रहसमेत गरेका छन् ।

‘विद्यालयलाई शान्ति क्षेत्रको रुपमा परिभाषित गरिएको साथै विद्यालयमा शिक्षण सिकाईलाई प्रर्वद्धन गर्ने तथा अतिरिक्त क्रियाकलापको गतिविधि तथा सरकारलाई आवश्यक परेको समयमा विद्यालयका भौतिक संरचनाको उपयोग गर्ने बाहेकका राजनीतिक दलसम्बद्ध कार्यक्रमहरु विद्यालयमा सचालन गर्दा जनमानसमासमेत सार्वजनिक संस्थाप्रति नकरात्मक सन्देश जाने भएकोले उक्त गतिविधिका लागि विद्यालय भवन उपलब्ध नगराउन हुन अनुरोध गरिन्छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

बन्द रहेका विद्यालय संचालनको लागि अध्ययन समिति गठन

केही दिन अघि बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरको १० वटै स्थानीय तहमा विद्यालय संचालन गर्न अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ ।

शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख प्रेमराज खरेलको संयोजकत्वमा समिति गठन गरिएको छ ।

समितिमा सम्बन्धित स्थानीय तहका शिक्षा शाखा प्रमुख, प्याब्सन/एनप्याब्सनका प्रतिनिधि र बालकल्याण समाज मकवानपुरका प्रतिनिधि सदस्य रहेका छन् ।

समितिले स्थलगत अध्ययन गरी जिल्ला कोभिड संकट व्यवस्थापन समितिमा भदौ १८ गतेभित्र प्रतिवेदन बुझाउने र सोही प्रतिवेदनका आधारमा विद्यालय संचालनबारे निर्णय लिने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।