बागमती प्रदेशको आठौं अधिवेशन बैठक अन्त्य
मकवानपुर । बागमती प्रदेशसभाको आठौं अधिवेशन बैठक अन्त्य गरिएको छ । बागमती प्रदेशको शुक्रबार (आज) बिहान बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यको लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गरेको थियो ।
मन्त्रिपरिषदको सिफारिस लगत्तै प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८६ को उपधारा २ बमोजिम आज राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन बैठक अन्त्य गरेका हुन् ।
गत जेठ १६ गतेदेखि संचालनमा आएको बागमती प्रदेशसभाको आठौं अधिवेशन बैठकले प्रदेश सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरेको थियो ।
यस्तै, आठौं अधिवेशन बैठकले प्रदेश सरकारको आर्थिक ऐन विनियोजन ऐन र प्रदेश सार्वजनिक सडक तथा पारवहन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक पारित गरेको थियो ।
यसैगरी, प्रदेश उच्च शिक्षा विधेयक, केही प्रदेश ऐन संशोधनका लागि प्रदेशसभामा प्रस्ताव दर्ता भएको छ भने प्रदेशसभा नियमावली संशोधनका लागि १३ सदस्यीय समिति पनि गठन गरेको छ ।
यसै अधिवेशन बैठकको भदौ २ गते बागमती प्रदेश सरकार परिवर्तन भएको थियो । तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएलगैत प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य चयन भएकी थिइन् ।
