आलमको मुद्दामा आज पनि सुनुवाइ भएन
काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा शुक्रबार पनि सुनुवाइ हुन सकेन ।
बारम्बार पेसी तोकेर पनि विभिन्न कारणले सुनुवाई हुन नसकेको सो मुद्दा विपक्षीको कानुन व्यवसायीबाट स्थगितका लागि माग भए बमोजिम शुक्रबार पनि सुनुवाई हुन नसकेको हो ।
सर्वोच्च अदालतले आलमको मुद्दामा सुनुवाइका लागि न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा पेसी तोकेको थियो ।
आलम रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा २०७६ साल असोज २६ गते पक्राउ परेका थिए ।
उनलाई जिल्ला अदालत र उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
आलमको सोही निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको हो ।
