भदौभित्र माओवादी केन्द्र मकवानपुरले सदस्यता टुंग्याउने
मकवानपुर । नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय समितिको बैठक सोमबार हेटौंडामा बसेको छ ।
पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा पार्टी जिल्ला अध्यक्ष प्रेमबहादुर पुलामीको अध्यक्षतामा बैठक बसेको हो ।
बैठकले यही भदौ मसान्तसम्म पार्टी सदस्यता नविकरण र वितरण गरिसक्ने निर्णय गरेको छ ।
साथै उक्त अवधिभित्र पार्टीका सेल कमिटीहरु निर्माण, भेला तथा बैठक गरिसक्ने निर्णय भएको नेकपा माओवादी केन्द्र मकवानपुरका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख कमानसिंह पाख्रिनले बताए ।
बैठकले आउँदो असो १० गतेभित्र जिल्लाको एक सय दुई वटै वडाको भेला सम्मेलन सक्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
किसान, महिला, युवा, जनस्वास्थ्य, दलित, कर्मचारी, विद्यार्थी, शिक्षक, पूर्वजनमुक्ति सेनालगायत जनवर्गीय संगठनहरुको भेला, बैठक र सम्मेलनहरु भदौ मसान्तभित्र सम्पन्न गर्ने निर्णय भएको उनले बताए ।
