डोरमणि पौडेल नेतृत्वको सरकारद्वारा मापदण्ड विपरित ३३ करोडको गाडी खरिद
मकवानपुर । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले मापदण्ड विपरीत सवारीसाधन खरिद गरेको देखिएको छ ।
प्रदेश सरकार मातहतको मन्त्रालय र निकायहरुले गत आर्थिक वर्ष २०७६/०७७ मा मापदण्ड विपरीत ३३ करोड १४ लाख ४२ हजार रुपैयाँको सवारी साधन खरिद गरेको हो ।
सवारी साधन खरिदसम्बन्धी मार्गदर्शन, २०७४ अनुसार महाशाखा प्रमुख तथा कार्यालय प्रमुखलाई बढीमा ३० लाख रुपैयाँसम्मको सवारी साधन उपलब्ध गराउने व्यवस्था छ । तर, बागमती प्रदेश सरकारले भने उक्त मापदण्डको पालना नगरी सवारी साधन खरिद गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ को तुलनामा आर्थिक वर्ष २०७६/०७७ मा विभिन्न निकायहरुको सवारी साधन खरिद खर्चतर्फ २५ दशमलव १८ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा बागमती प्रदेश सरकारका मातहतका निकायहरुले सवारी साधन खरिदमा २६ करोड ४७ लाख ७९ हजार रुपैयाँ खर्च गरेका थिए ।
