लुम्बिनीका मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिने

तु खबर संवाददाता
२०७८ भाद्र ७, सोमबार १५:०८

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार विश्वासको मत लिने भएका छन् ।

प्रदेशसभा सचिवालयले सोमबार प्रकाशन गरेको प्रदेशसभा बैठकको कार्यसूचीमा मुख्यमन्त्रीले आजै विश्वासको मत लिने उल्लेख गरिएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई साउन २८ गते मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कांग्रेस, माओवादी, जसपा र जनमोर्चाको गठबन्धनबाट केसी मुख्यमन्त्री बनेका हुन् । केसीले ४२ जना सांसदको समर्थनसहित बिहीबार नै मुख्यमन्त्री दाबी गरेका थिए । लुम्बिनी प्रदेश सभामा हाल ८० सांसद छन्, बहुमतका लागि ४१ सांसद आवश्यक पर्छ ।

यसअघि एमालेको तर्फबाट शंकर पोखरेल मुख्यमन्त्री थिए ।

प्रदेशसभाको केही बेर अघि बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नाराबाजी गर्दै अवरोध पुर्याएको थियो ।

उसले आफ्नो चुनाव हिन्हबाट निर्वाचित अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न गरेको आग्रह सभामुख पूर्णबहादुर घर्तीले अस्वीकार गरेको भन्दै बैठक अवरुद्ध पारेको हो ।

एमालेले माग पुरा नभएसम्म संसद बैठक चल्न नदिने अडान लिएको छ ।

तर, मुख्यमन्त्री केसीले भने आजै विश्वासको मत लिने कार्यसूचि तय भएको हो ।

 

हेर्नुहोस् कार्यसूचि