माधव पक्षका नेता चौधरी भन्छन् – निर्वाचन आयोगमा दल दर्ता भएपछि सरकारमा जान्छौँ
काठमाडौं । माधव नेपालले आफ्नो नेतृत्वमा गठन गरेको नेकपा एकिकृत समाजवादीका नेता मेटमणि चौधरीले निर्वाचन आयोगमा दल दर्ता हुने वित्तिकै आफुहरु सरकारमा सहभागि हुने बताएका छन् ।
नेता चौधरीले केही दिन भित्रमा नै माधव नेपाललाई साथ छाडेका भनिएका नेताहरू पनि आफूहरूकै पार्टीमा आउने दावी गरे ।
उनले माधव नेपालकै कदमले लोकतन्त्र र संविधानको रक्षा भएको बताउँदै एमालेका दोस्रो पुस्ताका नेताहरुले पनि यो कुरा बुझेर चाँडै आफ्नो पार्टीमा आउने उनको भनाई छ ।
नेता चौधरीले नेकपा एमालेले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने निष्कर्षमा पुगेपछि आफूहरूले नयाँ पार्टी स्थापना गर्नुपरेको बताए।
लामो समयदेखि आन्तरिक विवादमा रुमलिएको एमालेका सांसदहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए ।
आफ्नै पार्टीको सरकार गिराएर विपक्षीलाई सहयोग गरेको आरोप माधव पक्षले खेप्दै आएको थियो ।
विवाद थप चुलिएको र एकताको लागि कुनै आधार बाँकी नरहेको निश्कर्ष निकालेका माधव नेपालले आफ्नो नेतृत्वमा नयाँ दल गठन गरेका छन् । उनले निर्वाचन आयोगमा दल दर्ताको लागि प्रक्रिया अघि बढाएका छन् ।
यता प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गरेका छैनन् । माधव नेपालको दल दर्ता भएपछि सो दल सरकारमा जाने देखिन्छ । त्यस्तै उपेन्द्र यादवले नेतृत्व गरेको जसपा पनि सरकारमा जानेछ ।
