चेपाङ प्राविमा पुनः चेपाङ

तु खबर संवाददाता
२०७८ भाद्र ५, शनिबार १५:०६

मकवानपुर । मनहरी गाउँपालिका–४ मसिने चिसापानीस्थित चेपाङ प्राविको विद्यालय ब्यवस्थापन समितिका अध्यक्षमा पुनः बिष्णुबहादुर चेपाङ चयन भएका छन् ।

चेपाङ मनहरी गाउँपालिका–४ का निर्वाचित वडासदस्य पनि हुन् । शुक्रबार विद्यालयमा भएको अभिभावक भेलाले चेपाङलाई अध्यक्षमा चयन गरेको हो । समितिको सदस्यहरुमा मंगलबहादुर मोक्तान, भगवती प्रजा, तुलशी थोकर, नीलमरानी खत्री प्रजा, बुद्धराज प्रजा चयन भएका छन् ।

अभिभावक भेला मनहरी गाउँपालिकाका स्रोत शिक्षक पूर्णभद्र भुषालको प्रमुख आतिथ्यमा भएको हो । प्रमुख अतिथि भुषालले कोभिड महामारीमा बालबालिकालाई बैकल्पिक बिधि अपनाएर सिकाई सहजीकरण गर्नुपर्ने बताउँदै अभिभावकले घरमा पनि आफ्ना नानीबाबुहरुको अध्ययनमा सहयोग गर्न आग्रह गरेका थिए ।

कार्यक्रमका बिशेष अतिथि पशुपतिनाथ माविका प्रधानाध्यापक भानुभक्त आचार्यले बालबालिकाको पहिलो पाठशाला भनेको परिबारका सदस्य नै भएकोले घरमा बिहान बेलुका अध्ययन गर्ने वातावरण बनाउन जरुरी रहेको बताए ।

समितिका सदस्यसचिव तथा विद्यालयका प्रधानाध्यापक राजेन्द्र न्यौपानेले २०७७/७८ को १९ लाख २२ हजार रुपैयाँको आयब्यय एबम् शैक्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । भेलाले रोहित प्रजाको संयोजकत्वमा शिक्षक अभिभावक संघ पनि गठन गरेको छ । संघमा फूलमान थिङ, रञ्जित प्रजा, शर्मिला प्रजा, बिन्दामाया प्रजा रहेका छन् ।