प्रदेशको स्थायी राजधानी हेटौंडा राख्न सफल भएँ : डोरमणि पौडेल

तु खबर संवाददाता
२०७८ भाद्र ५, शनिबार १४:१२

मकवानपुर । बागमती प्रदेशका निर्वतमान मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको स्थायी राजधानी हेटौंडा राख्न आफु सफल भएको बताएका छन् ।

शनिबार राष्ट्रिय युवा संघ नेपाल ७ नम्वर वडा कमिटिको बृहत युवा भेलालाई सम्बोधन गर्दै पौडेलले मकवानपुरकै केही प्रदेश सदस्यले राजधानी हेटौंडा राख्न नमानिरहेको अवस्थामा समेत आफुले स्थायी राजधानी हेटौंडा राख्न सफल भएको बताएका हुन् ।

उनले आफुले प्रदेशको नेतृत्व लिईरेको अवस्थामा हेटौंडालाई प्रदेशको राजधानी स्थायी बनाउनुको साथै जिल्लामा महत्वपूर्ण विकासका कामहरु भएको बताए ।

माधव नेपालले प्रधानमन्त्री र अध्यक्ष पदको लागि पार्टी फुटाउने काम गरेको बताउँदै उनले भने, ‘पदको लागि माधव नेपालले पार्टी फुटाए, मैले पार्टीको लागि मुख्यमन्त्री पद त्यागे । अब फरक आफै छुट्याउनुहोस् पद ठूलो की पार्टी ? मान्छे चिन्नुपर्ने बेला आएको छ । पदको लागि पार्टी त्याग्ने की पार्टीको लागि पद त्याग्ने ? ’

उनले प्रदेशमा आफ्नै पार्टीको नेतृत्व रहेको बताउँदै आउँदा दिनहरुमा पनि विकास निमार्णका कामहरु अघि बढ्ने बताए ।