भीडभाड नगरी चाडपर्व मनाउन प्रशासनको आग्रह

तु खबर संवाददाता
२०७८ भाद्र ५, शनिबार १४:११

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले चाडपर्व मनाउँदा भीडभाड नगर्न र स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्वन गर्न आग्रह गरेको छ ।

कोरोना संक्रमणको जोखिम कायम नै रहेका कारण चाडपर्व मनाउँदा भीडभाड नगर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन प्रशासनले आग्रह गरेको हो ।

मकवानपुरमा आगामी भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरिएकोले आम नागरिकहरुलाई जिम्मेवार भएर निषेधाज्ञाको पालना गरी चाडपर्व मनाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए ।

जनैपूर्णिमा तथा ऋषितर्पणी र गाईजात्रा लगायतका पर्वहरू स्वास्थ्य मापदण्ड अपनाई परम्परागत रुपमा सांकेतिक तवरले मनाउन र भीडभाडजन्य गतिविधि नगर्न आम सर्वसाधारणमा अनुरोध गरिएको छ ।

हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको सूचना ।