पहिरोमा पुरिएर एकै परिवारका तीनसहित चार जनाको मृत्यु
काठमाडौं । रसुवाको कोल डाँडा भन्ने स्थानमा आज बिहान साढे ३ बजेको समयमा घरमाथिबाट आएको पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
नौकुण्ड गाउँपालिका–५ कोलडाँडाका श्यामबहादुर घलानको घर पुरिँदा उनकी श्रीमती र दुई बच्चाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, घलानको अर्का एक बच्चाको भने खोजीकार्य जारी छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार पहिरोमा ३२ वर्षीय कमला घलान, ११ वर्षीया सोकिता घलान, ८ वर्षीया सुकुमाया घलान र ७ वर्षीय आषिश घलान पुरिएका थिए ।
श्यामबहादुर घाइते छन् । उनलाई उद्धार गरी उपचार गर्न सुरुमा नुवाकोटको त्रिशूली अस्पताल पठाइएकोमा थप उपचारको लागि काठमाडौंको ट्रमा सेन्टरमा रिफर गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, नुवाकोटको बेलकोटगढी नगरपालिका – ५ लामाचउरमा गएराति आएको पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरो पन्छाउने क्रममा ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरीका अनुसार गएराति साढे ३० बजेको समयमा घरको करेसामा पहिरो पन्छाउने क्रममा थप खसेको र त्यसमा पुरिएर मृत्यु भएका लामिछानेको शव परीक्षणका लागि त्रिशूली अस्पतालमा ल्याउन लागिएको छ ।
