आफ्नै भवनमा दियालो बचत तथा ऋण सहकारी
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको दियालो बचत तथा ऋण सहकारी संस्थाले आज बुधबारदेखि आफ्नै भवनबाट कारोबार शुरु गरेको छ ।
यसअघि लेवटमा भाडाको घरमा सञ्चालन हुँदै आएको संस्थाले घर खरिद गरी लेवट बजारमा दुई तल्ले भवनबाट कारोबार सुरु गरेको हो ।
सहकारी संस्थाका अध्यक्ष शिवराज बर्तौलाको सभाध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष राम कुमार पुडासैनीले नयाँ भवनको उद्घाटन गरेका हुन ।
कोरोना संक्रमणका कारण देशको वित्तिय क्षेत्र सुस्त रहेको अवस्थामा पनि छोटो अवधीमा सो सहकारीले आफनै भवनबाट कारोबार शुरु गर्नु सुखद भएको प्रमुख अतिथी पुडासैनीले बताए ।
सहकारीको स्थापनाले गर्दा खनखाचोमा पैसा आवश्यकता पर्दा चर्को व्याजमा व्यक्तिसंग ऋण लिनुपर्ने बाध्यता हटेको उनले बताए । दियालो सहकारीले ग्रामीण भेगको आर्थिक विकासमा महत्वपुर्ण योगदान गरेको उल्लेख गर्दै पुडासैनीले सहकारी विकासका लागि वडावाट पनि आवश्यक सहयोग गरिने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा संस्थाका अध्यक्ष बर्तौलाले आफ्नै स्वामित्वको भवन अघिल्लो वर्ष नै सञ्चालनमा ल्याउने तयारी रहेको भएपनि कोरोना संक्रमणका कारण ढिलो भएको बताए । लेवटमा एक घर एक सदस्य अवधारणा संचालन गरि यस वर्ष भित्र दोब्बर सदस्य बनाइने र सदस्यहरुको लागि नयाँ योजना छिट्टै सार्वजनिक गरिने उनले बताए ।
कार्यक्रममा सोही स्थानमा रहेको विद्यालयको प्रतिनिधि, लेवट प्रहरी पोष्टको प्रतिनिधि, आमा समुह, संस्थाका शेयर सदस्य, सदस्य, सञ्चालक समिति, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।
२०७१ सालमा स्थापित संस्थाको शेयर पूँजी हाल ५३ लाख, निक्षेप २ करोड र ऋण लगानी २ करोड ५० लाख हाराहारीमा रहेको व्यवस्थापक हरिशरण पाठकले जानकारी दिए ।
