बागमती प्रदेशसभाको बैठक आज पनि बस्दै

तु खबर संवाददाता
२०७८ भाद्र २, बुधबार ०९:१२

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज (बुधबार) पनि बस्ने भएको छ । मंगलबारबाट सुरु भएको प्रदेशसभा बैठक आज पनि बस्ने भएको हो । बैठक आज बिहान ११ बजे प्रदेशसभा सचिवालयमा बस्ने भएको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा बागमती प्रदेशका सत्तारुढ दलका सांसदहरुले सरकारले ल्याएको केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएमा दल विभाजन गर्न सकिने अध्यादेश फिर्ता लिन माग गरेका थिए ।

बैठकमा शुन्य समयमा आफ्नो धारणा राख्दै प्रदेशसभा सदस्यहरु रत्नप्रसाद ढकाल, शेरजंग थापा, जुनेलीमाया श्रेष्ठलगायतले संघीय सरकारले पार्टी फुटाउने अधयदेश ल्याएको र त्यसलाई पारित हुन नदिने भन्दै प्रदेश सरकारमार्फत् संघीय सरकारको ध्यानाकर्षण गराएका थिए ।

त्यस्तै, सो बैठकमा सांसदहरुले अफगानिस्तानमा विचल्लीमा परेका नेपालीहरुको यथाशिध्र र सकुसल उद्दार गर्न सरकारसमक्ष माग गरेका थिए ।