‘अध्यादेशबाट राज्य चलाउने सोच अप्रजातान्त्रिक’
मकवानपु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले अध्यादेशबाट राज्य चलाउने सोच अप्रजातान्त्रिक भएको बताएका छन् ।
सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि अध्यक्ष थापाले सामाजिक संजाल ट्वीटमार्फत संसदको बैठक अन्त्य गरेर भोलिपल्टै दल सम्बन्धी अध्यादेश जारी गर्ने सरकारको निर्णय दलिय प्रणाली कमजोर बनाउने उद्देश्यबाट अभिप्रेरित रहेको बताए ।
उनले अध्यादेश ल्याउने निर्णय बदनियतपूर्ण तथा संविधानको भावना र सर्वोच्च अदालतको आदेश विपरीत रहेको भन्दै अध्यादेश फिर्ता गर्न माग समेत गरेका छन् ।
अध्यक्ष थापाले भनेका छन्ः ‘संसदको बैठक अन्त्य गरेर भोलिपल्टै दल सम्बन्धी अध्यादेश जारीगर्ने सरकारको निर्णय दलिय प्रणाली कमजोर बनाउने उद्देश्यबाट अभिप्रेरित छ । यो निर्णय बदनियतपूर्ण तथा संविधानको भावना र सर्वोच्च अदालतको आदेश विपरीत छ। अध्यादेशबाट राज्य चलाउने सोच अप्रजातान्त्रिक छ।अध्यादेश फिर्ता गरियोस् ।’
मंगलबार शेरबहादुर देउवा नेतृत्वको सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएमा दल विभाजन गर्न सकिने अध्यादेश ल्याएको थियो । यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो ।
सरकारले ल्याएको उक्त अध्यादेश विरुद्ध विभिन्न टिका टिप्पणी भइरहेको छ ।
मंगलबार बसेको बागमती प्रदेशसभा बैठकमा सत्तारुढ दलका सांसदहरुले पार्टी फुटाउने विधेयक फिर्ता लिइनुपर्ने माघ गरेका थिए ।
