अख्तियार हेटौंडाद्वारा नारायणी अस्पतालको औषधी स्टोर सिल

तु खबर संवाददाता
२०७८ भाद्र २, बुधबार ०८:२०

मकवानपुर । वीरगञ्जस्थित नारायणी अस्पतालको औषधी स्टोर सिल गरिएको छ । ठुलो मात्रामा म्याद गुज्रेका औषधी भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले औषघी स्टोर सिल गरेको हो ।

अस्पतालद्वारा सञ्चालित फार्मेसीमा करोडौँको आर्थिक अनियमितता भएको उजुरी परेपछि छापा मारेको आयोगको हेटौंडास्थित कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी विष्णु सापकोटाले फार्मेसीमा रु ७० देखि ८० लाख मूल्य बराबरको म्याद गुज्रिएका विभिन्न औषधि खरिद गरी आर्थिक अनियमिता गरेको उजुरी आयोगमा परेपछि त्यसको छानबिनका लागि छापा मारेको हो ।

उनले प्राप्त सूचनाका आधारमा अस्पताल फार्मेसीको गोदाममा जाँच गर्दा भारी परिमाणमा म्याद गुजरीएको विभिन्न औषधि बरामद भएकोपछि थप अनुसन्धानको लागि स्टोर सिल गरेको जानकारी दिए ।

यस्तै, नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेट डा वीरेन्द्रबहादुर प्रधानले फर्मेसीको गोदाममा म्याद समाप्त भएको औषधीबारे फार्मेसी इञ्चार्ज हरेन्द्र यादवले आफूलाई कुनै जानकारी नदिएको बताए । फर्मेसीसँग औषधि खरिद गर्न रकम नभएको गुनासो आएपछि एक महिना अगाडि मात्र अस्पतालले रु १० लाख उपलब्ध गराएको उनको भनाइ छ ।