निषेधाज्ञा उल्लङ्घन गरी मास्क नलगाउनेलाई जरीवानासहित कारबाही

तु खबर संवाददाता
२०७८ भाद्र १, मंगलवार १८:१६
file-photo

मकवानपुर । मकवानपुर प्रहरीले आज (मंगलबार) निषेधाज्ञा उल्लङ्घन गरी मास्क नलगाउने ७८ जनालाई जरीवानासहित कारबाही गरेको छ ।

प्रहरीले कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई नियन्त्रण तथा न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गरी मास्क नलगाउने ७८ जनालाई जरीवानासहित कारबाही गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार, निषेधाज्ञा उल्लङ्घन गरी मास्क नलगाउनेलाई जनही एक सय रुपैयाँ जरीवाना गरिएको हो ।

त्यस्तै, मकवानपुर प्रहरीले सोमबार ५५५ थान मास्क वितरण गरेको जनाएको छ ।

जिल्लामा दिनप्रतिदिन कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएकोले जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञालाई कडाई गरेको छ ।

जिल्लामा आज २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । आज कोरोना संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन नभएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।