जनप्रतिनिधि र राजनीतिज्ञको सम्पत्ति छानविन गर्न हेटौंडाका मेयर महतको माग

तु खबर संवाददाता
२०७८ भाद्र १, मंगलवार ०८:४३

मकवानपुर । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा मकवानपुरका जनप्रतिनिधिहरुको सम्पत्ति छानविन गर्न जनप्रतिनिधिले नै माग गरेका छन् ।

मकवानपुरमा १० वटै स्थानीय तहका जनप्रतिनिधिहरुको आर्थिक हैसियत स्थानीय तहको निर्वाचन अघिको तुलनामा अहिले अप्रत्याशित बृद्धि भएको भन्दै सम्पत्ति छानविनको विषयमा आवाज उठ्न थालेको हो । उनले अन्य जनप्रतिनिधिको पनि सम्पत्ति वितरण छानविन गर्नुपर्नेमा जोड दिए ।

गएको साउन ३१ गते हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सबै जनप्रतिनिधि र राजनीतिज्ञको सम्पत्ति छानविन गर्न माग गरे ।

उनले भने ‘ एक्कासी जनप्रतिनिधिहरु र राजनीति गर्नेहरुको आर्थिकस्तर कसरी बृद्धि भयो ?, न कुनै व्यापार व्यवसाय, न गतिलो काम नै गर्या छन्, अनि राजनीति गरेकै भरमा, जनप्रतिनिधि भएकै भरमा त्यसै सम्पत्ति आर्जन हुने त होइन । सम्पत्तिको स्रोत के हो त ?’

उनले अघि भने, मैले जनप्रतिनिधि र राजनीतिज्ञले सम्पत्तिनै कमाउन हुन्न भनेको होइन । तर, त्यसको स्रोत त उहाँहरुले देखाउन सक्नु पर्यो नी ।

उनले सम्पत्ति छानविनको काम आफैँबाट सुरु गर्न सरोकारवालासमक्ष माग गरे ।

जनप्रतिनिधि र राजनीतिकर्मीहरुले आफ्नो पदलाई पेशा व्यवसायको रुपमा नलिई निश्वार्थ रुपमा सेवा भाव राखी जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताए ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा मेयर महतले जनप्रतिनिधि र राजनीतिज्ञ भ्रष्टाचारमा लिप्त भएको संकेत गरेका छन् ।

निर्वाचित भएको साँढे ३ बर्षसम्म यस्ता विषयमा आवाज नउठाउने मेयरले अचानक जनप्रतिनिधिहरु भ्रष्टाचारमा लिप्त भएको भन्दै सम्पत्ति छानविनको माग गरेपछि नगरवासी अचम्ममा परेका छन् । केहीले मेयरको चुनावी राजनीति भएको भन्दै टिप्पणीसमेत गरेका छन् ।