बागमती प्रदेशसभाको बैठक आज बस्दै
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज (मंगलबार) बस्दैछ । बैठक दिउँसो २ बजे प्रदेशसभा सचिवालयमा बस्ने भएको प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता सुन्दर पन्तले जानकारी दिए ।
चालु आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेसँगै बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चितकालका लागि स्थगित गरेको प्रदेशसभा बैठक झण्डै एक महिनापछि बस्न लागेको हो ।
यसअघि गत असार २८ गते दुई विधेयक पारित गरिएपछि प्रदेशसभाका सभामुख श्रेष्ठले अनिश्चित कालका लागि बैठक स्थगित गरेका थिए । सो बैठकमा उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक पारित गरिएको थियो ।
प्रदेशसभा बैठक बस्नु अघि सोमबार अपराह्न कार्य परामर्श समितिको बैठक बसेको थियो । सो बैठकमा आज हुने प्रदेशसभाको कार्यसूची, बैठकमा पेस हुने विधेयकका बारेमा छलफल भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभा बैठक आज र भोलि बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
