निषेधाज्ञा उल्लङ्घन गरी मास्क नलगाउनेलाई जरीवानासहित कारबाही
मकवानपुर । मकवानपुर प्रहरीले सोमबार निषेधाज्ञा उल्लङ्घन गरी मास्क नलगाउने ११५ जनालाई जरीवानासहित कारबाही गरेको छ ।
प्रहरीले कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई नियन्त्रण तथा न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गरी मास्क नलगाउने ११५ जनालाई जरीवानासहित कारबाही गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार, निषेधाज्ञा उल्लङ्घन गरी मास्क नलगाउनेलाई जनही एक सय रुपैयाँ जरीवाना गरिएको हो ।
यसैगरी, प्रहरीले निषेधाज्ञा उल्लङ्घन गरी तोकिएको समयभन्दा बढी पसल संचालन गर्ने २ जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरेको जनाएको छ ।
त्यस्तै, मकवानपुर प्रहरीले सोमबार ५६६ थान मास्क वितरण गरेको जनाएको छ ।
जिल्लामा दिनप्रतिदिन कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएकोले जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञालाई कडाई गरेको छ ।
